© २०२३
काठमाडौँ ।
चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा पुस मसान्तसम्म २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस अनुसार ६ महिनाको अवधिमा कुल ऋण ४.९५ प्रतिशतले वृद्धि भएको हो ।
पुस महिनामा मात्र सरकारले ३६ अर्ब ४३ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ । यसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक ऋण र ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।
त्यसै समयमा सरकारले २० अर्ब ११ करोड १५ लाख रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानीमा खर्च गरेको छ, जसमा आन्तरिक ऋणतर्फ १७ अर्ब ४५ करोड ५४ लाख र बाह्य ऋणतर्फ २६ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको छ ।
पुस महिनामा मात्रै सरकारले भुक्तानी गरेको भन्दा १६ अर्ब ३१ करोड रुपैयाँ बढी ऋण थपिएको देखिन्छ ।
कुल सार्वजनिक ऋणको संरचनामा बाह्य ऋणको हिस्सा ५३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५.९५ प्रतिशत पुगेको छ, जसमा आन्तरिक ऋणको अनुपात २१.६० प्रतिशत र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत रहेको छ ।
जनसंख्या आधारमा हरेक नेपालीको लागि प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ छ । सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।
पुस मसान्तसम्ममा यसमा २ खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो ।
अन्तरगत, आन्तरिक ऋणतर्फ ३ खर्ब ६२ अर्बको वार्षिक लक्ष्य रहेकोमा १ खर्ब ७८ अर्ब ६६ करोड अर्थात् ४९.०८ प्रतिशत प्राप्ति भएको छ । बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा मात्र ३६ अर्ब ८९ करोड अर्थात् १५.७९ प्रतिशत प्राप्त भएको छ ।