© २०२३
काठमाडौँ ।
आगामी निर्वाचनका कारण १० दिनभित्रै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत सामान्य अवस्थामा भन्दा करिब २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।
नेपाल आयल निगमका अनुसार चुनावका बेला इन्धनको माग ह्वातै बढ्ने भएकाले त्यसलाई ध्यानमा राखेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, “चाडपर्वजस्तै चुनावका लागि पनि इन्धनको माग उच्च हुने भएकाले हामीले सबै डिपोहरूलाई पर्याप्त इन्धन भण्डारण गर्न निर्देशन दिन लागेका छौँ । चुनावको समयमा केही नाकाहरू बन्द हुने सम्भावना भएकाले सो अनुसार तयारी गर्न जरुरी छ ।”
उनका अनुसार अहिले औसतमा दैनिक २०–२५ लाख लिटर पेट्रोल र ३८–४० लाख लिटर डिजेल खपत हुन्छ । चुनावको १० दिनअघि खपतमा २०–२५ प्रतिशत वृद्धि हुने अनुमान गर्दै निगमले सोही अनुसारको स्टक भण्डारण गर्नेछ ।
कार्यकारी निर्देशक भट्टले बताए, “चुनावका बेला बोर्डर बन्द हुने भएकाले हामीले ट्याङ्कर र भण्डारण गृहलाई पूरै भरेर राख्नेछौँ । १७–१८ सय ट्याङ्करहरूलाई पनि मोबाइलाइज गरेर स्टक राखिनेछ ।”
उनले भने, “यदि २–४ दिन बोर्डर बन्द भए पनि बजारमा कुनै समस्या नहोस् भनेर इन्धन आपूर्ति सहज बनाउने व्यवस्था गरिनेछ ।”
नेपाल आयल निगमले इन्धनको सहज आपूर्तिको जिम्मेवारी पाउँदै आएको छ । भारतको इण्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यास आयात हुँदै आएको छ ।
हाल इन्धन खरिदका लागि मोबाइलमार्फत पनि पैसा तिरेर खरिद गर्न सकिने व्यवस्था निगमले मिलाएको छ भने भण्डारण क्षमता पनि विस्तार भइरहेको छ ।
२ वर्षअघिसम्म निगमसँग पेट्रोल आठ दिन र डिजेल १२ दिन धान्ने मात्र क्षमता थियो भने हाल अमलेशगञ्जमा १४ हजार केएल क्षमताका चारवटा इन्धन भण्डारण ट्याङ्की सञ्चालनमा ल्याइएको छ ।
पोखरा, विराटनगर र नेपालगंजमा रहेका ट्याङ्कीहरू पनि सक्रिय गराउँदै भण्डारण क्षमता बढाइएको छ । अहिले डिजेल करिब १४ दिन र पेट्रोल १२ दिनसम्म धान्न सकिने भण्डारण क्षमता निगमसँग छ ।
त्यसैगरी, पाइपलाइन विस्तारको काम पनि तीव्र गतिमा अघि बढाइएको छ । मोतिहारी–अमलेशगञ्ज पाइपलाइन सञ्चालनमा छ भने अहिले पेट्रोल र केरोसिन ल्याउन पाइपलाइनको प्रयोग भइरहेको छ ।
पाइपलाइनमार्फत इन्धन ल्याउँदा ढुवानी खर्च घटेर उपभोक्तालाई प्रतिलिटर दुई रुपैयाँसम्म इन्धन सस्तो पर्ने गरेको भट्टले बताए ।
अमलेशगञ्ज–चितवन र सिलगुढी–झापासम्म पाइपलाइन योजना अगाडि बढिरहेको छ, जसले गर्दा इन्धन अझ सस्तो पर्न जानेछ । आगामी तीन वर्षभित्र पाइपलाइन र भण्डारण गृह निर्माण सम्पन्न गर्ने लक्ष्य निगमको छ ।
निगमले हवाई इन्धन समेत पाइपलाइनमार्फत ल्याएर भण्डारण र वितरण गर्ने तयारी गरिरहेको छ, जसले ट्याङ्कर भारत जानुपर्ने बाध्यता अन्त्य गर्नेछ ।