Butwal Today

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय

७ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्षको जेल सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नागरिक शासन केही समयका लागि निलम्बन गर्ने उद्देश्यले जारी गरिएको मार्सल ल घोषणामा सहयोग र उक्साहट गरेको कसुरमा उनलाई उक्त सजाय तोकिएको हो ।

सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गरेको’ ठहर गरेका छन् ।

अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो । ७६ वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएलगत्तै तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको छ ।

न्यायाधीश लीका अनुसार तत्कालीन राष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा जारी गरेको मार्सल ल डिक्री ‘संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य’का साथ ल्याइएको थियो र यसलाई विद्रोहसरह मान्नुपर्ने अवस्था देखिएको छ ।

युनको अप्रत्याशित मार्सल ल घोषणापछि विपक्षी नेतृत्वको संसद्ले त्यसलाई भिटो गर्नुअघि राष्ट्रिय सभा र राष्ट्रिय निर्वाचन आयोगमा सशस्त्र सेना तैनाथ गरिएको थियो ।

यस घटनाक्रमपछि अप्रिलमा संवैधानिक अदालतले युनलाई महाभियोगमार्फत पदबाट हटाएको थियो भने दुई महिनापछि उपचुनाव प्रक्रिया सुरु भएको थियो ।

हान पनि युनसहित ती पूर्व उच्च अधिकारीमध्ये पर्छन्, जसले मार्सल ल प्रयासमा खेलेको भूमिकाका कारण मुद्दा भोगिरहेका छन् ।

न्यायाधीश लीले टेलिभिजनमार्फत फैसला सुनाउँदै हानले ‘युन र अन्यको विद्रोही कार्यमा कम्तीमा पनि औपचारिक रूपमा प्रक्रियागत आवश्यकताको पालना सुनिश्चित गरेर महत्त्वपूर्ण भूमिका खेलेको’ ठहर गरेका छन् ।

अदालतका अनुसार हानले यस कदमप्रति युनसँग चिन्ता व्यक्त गरे पनि स्पष्ट रूपमा विरोध जनाउन वा अन्य मन्त्रीहरूलाई यसबाट रोक्न असफल भएका थिए ।

मुद्दा सुनुवाइका क्रममा हानले आफूले कहिल्यै मार्सल ल घोषणालाई समर्थन वा सहयोग नगरेको दाबी गर्दै कुनै पनि गलत कार्यमा संलग्न नभएको बताएका थिए ।

अप्रिलमा युन पदबाट हटाइएपछि हान कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?