© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन् ।
सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा परेका खड्का चुनावी मैदानमा नउत्रिने भए पनि पार्टीको प्रचार–प्रसारका लागि देशभर जाने तयारीमा छन् । खड्कानिकट स्रोतले उनी निर्वाचन नलड्ने तर कांग्रेसलाई जिताउन सक्रिय रूपमा लाग्ने निर्णयमा पुगेको जानकारी दिएको छ ।
‘उहाँ निर्वाचन नलड्ने निर्णयमा पुग्नुभएको छ । तर, चुनावी प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ र पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ खड्कानिकट स्रोतले भन्यो ।
उनका अनुसार खड्काले पार्टीलाई एकढिक्का बनाउने उद्देश्यले देशभर रुख र चारतारे झण्डाको प्रचार–प्रसार गर्ने बताउँदै आएका छन् ।
सहयोगीहरूका अनुसार नेता खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन आफू प्रतिबद्ध रहने कुरा आफूनिकट नेताहरूसँग स्पष्ट पारेका छन् ।