© २०२३
काठमाडौं ।
स्पेनमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
पछिल्लो एक दशकभन्दा बढी अवधिमा यस दुर्घटनालाई देशकै सबैभन्दा ठूलो रेल दुर्घटनामध्ये एक मानिएको छ । म्याड्रिडतर्फ जाँदै गरेको एक रेल लिकबाट उछिट्टिएर विपरीत दिशाको ट्र्याकमा पुगेपछि अर्को रेलसँग ठोक्किएको थियो । स्थानीय अधिकारीहरूका अनुसार दुवै रेलमा गरी करिब ४ सय यात्रु तथा कर्मचारी सवार थिए ।
आपतकालीन सेवाका अनुसार कम्तीमा ७३ जनालाई अस्पताल लगिएको छ । तीमध्ये २४ जनाको अवस्था गम्भीर छ, जसमा चार बालबालिका पनि छन् ।
स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले घटनालाई ‘अत्यन्तै अचम्मको’ बताएका छन् । उनका अनुसार दुर्घटना सीधा ट्र्याकमा भएको हो, जुन ट्र्याक गत वर्ष मे महिनामा मात्र मर्मतसम्भार गरिएको थियो ।
मालागाबाट स्थानीय समयअनुसार १८:४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।
मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योका अनुसार पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु सवार थिए । अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए ।
रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिएको जनाएका छन् । अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
यसैबीच, स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् ।
स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश दिएका छन् ।
यसअघि सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटनालाई देशकै सबैभन्दा भयावह मानिएको थियो । उक्त दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।