© २०२३
काठमाडौं । नेपाली कांग्रेसको विवाद अब सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवापक्ष सर्वोच्च अदालत पुगेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू सर्वोच्च अदालत पुगेका छन् । आयोगले शुक्रबार गगन नेतृत्वको नयाँ कार्यसमितिलाई वैधता दिएको थियो ।
काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
सोअनुसार निर्वाचन आयोगले दल दर्ता किताबमा कांग्रेसको विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो ।
देउवापक्षको शनिबार बसेको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो । देउवापक्ष सर्वोच्च अदालत पुगेसँगै कांग्रेस विवादको निराकरण अब कानुनी परीक्षणबाट हुनेछ । माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । यो विवादले कांग्रेसमा फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन नै सकसपूर्ण बनेको छ ।