© २०२३
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी रहेको बताएका थिए । तर अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी प्रावधानका कारण पनि उनले राजीनामा होल्ड गरेको बताइएको छ ।
‘राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने भनेर अहिल्यै भन्न मिल्दैन । जे होस्, अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ । त्यता केही होला, भोलि चुनाव सर्ने वा अरू कुनै सम्भावना पनि रहन सक्छ । यही अनिश्चितताका कारण अहिले राजीनामा होल्ड गरिएको हो ।’
मेयर पदबाट राजीनामा नदिई उनी केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर जाने तयारीमा छन् ।
झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन त्यसअघि नै राजीनामा दिने तयारीमा थिए । निर्वाचन आयोगले पर्सि (माघ ६) उम्मेदवारी दर्ताका लागि समय तोकेको छ । सोही अनुसार दलहरूले उम्मेदवार टुंग्याउने क्रम जारी छ । यसैबीच रास्वपाले पनि आफ्ना उम्मेदवारहरू अन्तिम रूप दिँदैछ ।
पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने कार्यक्रम रहेको छ ।