© २०२३
काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला बोलाइएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने क्रममा उनले पार्टी विधानअनुसार नै काम हुने बताएका हुन् ।
‘पार्टी विधानअनुसार काम हुन्छ । राजनीतिक दलको काँधमा संविधान रक्षा गर्ने दायित्व छ । विषम परिस्थितिमा पार्टीभित्रका केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन उल्लङ्घन गर्दै गतिविधि गरेका छन्,’ उनले भने ।
‘विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरीत निर्वाचन आयोगमा पुगेको जानकारी पायौँ । आज निर्वाचन आयोगमा आफ्ना वैधानिक अधिकार, नेपाली कांग्रेसको विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छौँ ।’
उनले पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केवल केन्द्रीय समितिलाई मात्रै भएको बताए । ‘पार्टीको अधिवेशन र विशेष महाधिवेशन गर्ने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई छ । नेपाली कांग्रेसको विधानले कसैलाई पनि यो अधिकार दिएको छैन । यो कुरा धारा र दफामा प्रष्ट उल्लेख छ,’ उनले भने ।
‘केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्र विशेष महाधिवेशन गर्न सकिन्छ । विशेष महाधिवेशनको विधि र प्रक्रिया पनि त्यही अनुसार तय हुन्छ, नत्र केन्द्रीय समितिलाई यसको थाहा हुँदैन ।’
खड्काले विशेष महाधिवेशन मागकर्ताको निवेदन दर्ताबारे पनि जानकारी दिए । ‘विशेष महाधिवेशन माग गर्नेहरूले नियमित महाधिवेशन गरियोस् वा विशेष महाधिवेशन गरियोस् भनेर निवेदन दर्ता गराएका छन् ।
यही आधारमा हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका थियौँ, तर अब यसलाई संशोधन गर्नुपर्ने अवस्था आएको छ,’ उनले बताए ।