© 2026
बुटवल । तन्त्र र ज्योषित सम्बन्धी सम्पूर्ण ज्ञान र जानकारी दिने उद्देश्यसहित रुपन्देहीमा प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशले यहीँ माघ ३ गते रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तन्त्र एंव ज्योषित प्रशिक्षणात्मक गोष्ठी सञ्चालन गर्ने भएको हो । शास्त्रीय, व्यवहारिक र जिम्मेवार ढंगले ज्योतिष र तन्त्रको सही प्रयोगबारे प्रशिक्षण सञ्चालन हुनेछ ।
कार्यक्रम संयोजक ज्योषित चुडामणि पाण्डेले ज्योषित र तन्त्रमाथिका विभिन्न प्रश्नहरुको निराकरण गर्ने गरी पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए । उनले तन्त्र र ज्योषितको आवश्यकता, सामाजिक महत्व र दैनिक जीवनमा आवश्यक तन्त्र सम्बन्धी ज्ञानको लाभ लिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा निःशुल्क सहभागिताको व्यवस्था मिलाइएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका महासचिव अनुप पौडेलले ज्योतिषबारेको भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगका कारण समाजमा नकारात्मक धारणालाई कार्यक्रमले चिर्ने बताए ।
सो अवसरमा नेपाल संस्कृति विश्वविद्यालयका प्रा. डा अर्जुन भटटराईले प्रेम विवाह र सम्बन्धविच्छेदबारे ज्योतिषीय समाधान, अर्का प्रा.डा माधव प्रसाद लामिछानेले नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता, प्राध्यापक नारायणप्रसाद भण्डारीले राशीफल लेखनबारे प्रशिक्षण प्रदान गर्नेछन ।
ज्योषित ज्ञानेन्द्र पन्थीले ज्योतिषमाथिको प्रश्नको निराकरण गर्दै भविश्यवाणीमा एकरुपता ल्याउन गोष्ठी कोशेढुंगा सावित हुने बताए । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा ५०० भन्दा बढीको सहभागिता रहने आयोजनको भनाइ छ ।