© 2026
काठमाडौं, ३० पुस ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।
देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्कासनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिकतामा विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।
‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेका हौँ,’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था छैन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भए पनि सफल भएन ।’
कांग्रेसको आधिकारिकता को हो भन्ने प्रश्नमा थापाले थपे, ‘यहाँ विधिवत र विधानसम्मत नेतृत्व चयन भइरहेको छ । यही नै कांग्रेस हो ।’ विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी दिने पनि थापाको भनाइ छ ।
‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ,’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रुख, चारतारे झन्डा हामीसँगै छ । अर्को कुरा, कांग्रेस नै हामी हौँ ।’देउवासँग अन्तिम संवाद हुँदा के कुरा भयो भन्ने प्रश्नमा उनले भने कि वैशाखमा स्वतः अलग हुने प्रस्ताव राखेको तर अहिले निष्क्रिय हुन नसकिने अवस्था आएको हो ।
त्यस्तै, उनलाई वैशाखसम्म किन कुर्न नसकिने भएको भन्ने प्रश्नमा थापाले जवाफ दिँदै भने, ‘पर्खन नसक्ने अवस्था भयो । पर्खन हाम्ले नसकेको होइन । देश, समाज र कार्यकर्ताले कुर्न सकेनन् । यदि उनीहरूले स्वीकार गरेका भए भदौ २३ को घटना हुने थिएन ।’