Butwal Today

समानुपातिक सूचीबाट १६४ जनाले उम्मेदवारी फिर्ता लिए

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

विभिन्न १८ राजनीतिक दलका समानुपातिक सूचीमा रहेका १६४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिएकाहरूको स्थानमा नयाँ नाम सिफारिस गर्न सम्बन्धित दललाई सूचित गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार समानुपातिक सूचीबाट सबैभन्दा धेरै उम्मेदवारी फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेको छ । लोसपाका ७८ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । लोसपाले जनता समाजवादी पार्टीसँग पार्टी एकता गरेपछि समानुपातिक सूचीका नाम फिर्ता गरेको हो ।

त्यसपछि जनता समाजवादी पार्टी नेपालका २१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । तेस्रो स्थानमा जनमत पार्टीका २० जना रहेका छन् । चौथो धेरै नाम फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना उम्मेदवार छन् ।

त्यसैगरी जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना तथा राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।