© 2026
काठमाडौं, २९ पुस ।
भारतको हिमाचल प्रदेशमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागी घटनामा ९ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन् ।
भारतस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार हिमाचलको सोलन जिल्लाको अर्की बजार क्षेत्रमा बसोबास गर्ने ९ जना नेपाली श्रमिक आगलागीमा परेका हुन सक्ने आशङ्का गरिएको छ । उनीहरू हालसम्म सम्पर्कमा आउन नसकेको जनाइएको छ ।
आगलागीबाट सो बजार क्षेत्रका १० देखि १२ वटा घर जलेर पूर्ण रूपमा ध्वस्त भएका छन् । आगलागीका क्रममा ग्यास सिलिन्डरहरू समेत विस्फोट भएको बताइएको छ । घटनास्थलबाट दुई वटा शव निकालिएको भए पनि शवको पहिचान हुन सकेको छैन । पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने बताइएको छ ।
आगलागीमा परी बेपत्ता भएका ९ जना नेपाली नागरिकको खोजी कार्य जारी रहेको भारतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार हिमाचल प्रदेश सरकारले आगलागीमा परी हराइरहेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र पारेको छ ।
भग्नावशेषमा हराइरहेका नेपालीहरूको सूची हिमाचल प्रहरीले दूतावासलाई उपलब्ध गराएको छ । उक्त सूचीअनुसार बेपत्ता हुनेमा सल्यान जिल्लाका ५ महिला र ४ पुरुष रहेका छन् ।