© 2026
काठमाडौं, २८ पुस ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
‘नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसको मुख्य उद्देश्य निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षाको दियो जगाउनु हो ।
साथै राजनीतिलाई जनमुखी र समाजकेन्द्रित बनाउने, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्ने तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु पनि यस अभियानको लक्ष्य हो,’ प्रतिवेदनमा भनिएको छ ।
अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ । यसबाट राष्ट्रिय आत्मविश्वास, सामाजिक एकता र सद्भाव अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
महामन्त्री थापाका अनुसार पुनर्जागरण अभियानमा पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई राजनीतिक तथा सामाजिक–सांस्कृतिक जिम्मेवारीसहित परिचालन गरिनेछ ।
‘यस अभियानले समाजलाई घृणा, द्वेष र प्रतिशोधबाट माथि उठाएर राष्ट्रका साझा मुद्दामा साझा दृष्टिकोण निर्माण गर्न भूमिका खेल्नेछ । यसले राष्ट्रिय स्वाभिमान अभिवृद्धि गर्नुका साथै अन्तरपुस्ता सहकार्य र अन्तरतह समन्वयको वातावरण सिर्जना गर्नेछ,’ थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समानताको प्रवर्द्धन गर्ने मार्गचित्रसहित आम नागरिकको हृदयमा नयाँ जागरण र भरोसाको किरण छर्ने विश्वास व्यक्त गरेका छन् ।