© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब इतिहासको ब्याज खाएर मात्र पार्टी चलाउन नसकिने बताएका छन् ।
आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेस समयअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
‘अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन,’ श्रेष्ठले भने ।
उनले राणा शासनविरुद्धको संघर्ष, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, २०४६ सालको जनआन्दोलनको नेतृत्व तथा राजतन्त्रको अन्त्यजस्ता उपलब्धि मात्र स्मरण गरेर नहुने बताए । नयाँ पुस्ता र जनताका आकांक्षा पूरा गर्ने गरी कांग्रेसले आफ्नो यात्रा तय गर्नुपर्नेमा उनले जोड दिए ।
‘समय बदलिएको छ, पुस्ता बदलिएको छ, जनताका अपेक्षा पनि बदलिएका छन् । त्यसैले पार्टी सञ्चालनको शैली बदल्नुपर्छ र नयाँ युवालाई अगाडि सार्नुपर्छ,’ श्रेष्ठले भने ।
नेता श्रेष्ठले राष्ट्रियतामाथि नै खतरा उत्पन्न हुने अवस्था आएको उल्लेख गर्दै दलगत गुटबन्दीमा लाग्न नहुने बताए ।
‘देशको अवस्था अत्यन्त जटिल छ । अब पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन सबै एकजुट हुनुपर्छ । गुटको त कुरै नगरौँ,’ उनले भने ।
विशेष महाधिवेशन ऐतिहासिक भएकाले शुभकामना दिन आफू उपस्थित भएको उल्लेख गर्दै श्रेष्ठले ७० वर्षपछि विशेष महाधिवेशन आयोजना गर्ने सबैलाई धन्यवादसमेत दिए ।