© 2026
पाल्पा । नेपाली काँग्रेस पाल्पाले पार्टीको विशेष महाधिवेशनमा भाग लिन आह्वान गरेको छ । जिल्ला सभापति हिमालदत्त श्रेष्ठले एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेका हुन् ।
सभापति श्रेष्ठले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने बताए । विशेष महाधिवेशन नेपाली कांग्रेसको भविष्य निर्धारण गर्ने निर्णायक मोड भएको विज्ञप्तिमा उल्लेख छ ।
“यो विशेष महाधिवेशन केवल औपचारिक जमघट नभई पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक सुदृढता र जनविश्वासको पुनःस्थापनातर्फ अघि बढाउने ऐतिहासिक अवसर हो । जनतामा बढ्दो राजनीतिक नैराश्यतालाई आशा र विश्वासमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई समयसापेक्ष, युवा–मैत्री र जनमुखी बनाउने संकल्प यस महाधिवेशनको मूल उद्देश्य हो भन्ने हाम्रो बुझाइ छ । सर्वप्रथम गौरवशाली नेपाली कांग्रेस पार्टी भएकाले मात्र पार्टीको विधान बमोजिम पार्टी भित्र विशेष महाधिवेशनको अपिल गर्ने अवसर प्राप्त भएकाले पार्टी फुटाल्ने र फुट्ने जोखिमबाट हामी सचेत छौं, हुनुपर्छ” विज्ञप्तिमा भनिएको छ ।
काँग्रेस पाल्पाले महाधिवेशनमा नीतिगत निर्णय र संकल्प प्रस्ताव सम्बन्धी विशेष अपिल गर्ने समेत जनाएको छ । उसले महाधिवेशनमार्फत महत्वपूर्ण नीतिगत संकल्प प्रस्तावहरू पेस गरी पारित गर्न आग्रह गर्ने जनाएको छ ।