Butwal Today

६० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा रहेको कांग्रेसको दाबी

२६ पुष २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसको आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनका लागि गठित आयोजक समितिले आफ्नो पक्षमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिहरूको समर्थन ६० प्रतिशत पुगेको जनाएको हो । विशेष महाधिवेशनको माग उठाउँदा ५४.५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षर भए पनि अहिले त्यो संख्या अझै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।

उनका अनुसार विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा थप खुल्दै गएका छन् । शिवाकोटीले २ हजार ४ सय ८८ प्रतिनिधिको हस्ताक्षरबाट सुरु भएको विशेष महाधिवेशनको मागलाई अहिले जिल्ला–जिल्लाबाट व्यापक समर्थन मिलिरहेको जानकारी दिए ।

तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायत जिल्लाबाट थप प्रतिनिधिहरू खुलेर समर्थनमा आएको कारण संख्या बढ्दै गएको उनले बताए । पार्टीको विधानअनुसारको व्यवस्था कार्यान्वयन गर्न लागिएको भन्दै पार्टी फुटाउने उद्देश्य नभई कांग्रेसलाई अझ बलियो बनाउने लक्ष्यसहित विशेष महाधिवेशन अपरिहार्य रहेको उनको जिकिर छ ।

विशेष महाधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथिका रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिइएको छ । साथै, विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ ।

भृकुटीमण्डपमा हुने उद्घाटन समारोह आइतबार दिउँसो १ बजे सुरु हुनेछ ।