Butwal Today

उज्यालो नेपालसँग एकता टुटेपछि रविद्वारा पार्टीमा ब्रिफिङ

२६ पुष २०८२, शनिबार
अ+
अ-

 काठमाडौं, २६ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक भर्चुअल माध्यमबाट जारी छ । बैठकको सुरुमै सभापति लामिछानेले कुलमान घिसिङ पक्षले पछिल्लो समय अघि सारेका मागहरूबारे सचिवालय सदस्यहरूलाई जानकारी गराएका थिए ।

बैठक स्रोतका अनुसार सचिवालयले उज्यालो नेपाल पार्टीसँग भएको एकता सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । उक्त निर्णयमा पार्टीका वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले जनाएको छ ।

“हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने क्रम बढ्यो । नयाँ नयाँ भाग माग्दै गएपछि हामी अब यो प्रक्रियामा अघि बढ्न नसक्ने अवस्थामा पुग्यौं,” बैठकमा सभापति लामिछानेले भनेको भन्दै स्रोतले जनाएको छ ।

रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकपछि कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ । उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्षको भूमिकामा चयन गरिसकेको छ ।

पूर्व सहमति अनुसार कुलमान घिसिङ रास्वपामा उपसभापति हुने तय भएको थियो । तर पदाधिकारी र केन्द्रीय सदस्यको बाँडफाँडमा दुई पक्षबीच सहमति जुट्न सकेन ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारसम्बन्धी पूर्व सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएको छ । पछिल्लो समय शक्ति बाँडफाँडका क्रममा भएको संवादमा कुलमान घिसिङ पूर्व सहमतिबाट पछि हटेको रास्वपाको दाबी छ ।