© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको विशेष महाधिवेशन पुस २७–२८ मा काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ । महाधिवेशनका लागि करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
विशेष महाधिवेशनका लागि १२ वटा व्यवस्थापन उपसमितिले तयारी तीव्र पारेका छन् । खाना, आवास, मञ्च निर्माण र यातायात व्यवस्थापनमा खर्च हुने भएको छ ।
खाना तथा आवास व्यवस्थापन उपसमितिका प्रमुख रमेश धमलाले सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगल र लैनचौरका होटलमा १५ सय कोठा बुक गरिएको बताए ।
डबल बेडको कोठा प्रति दिन १५ सय रुपैयाँ दरले तीन दिनका लागि बुक गरिएको छ । आवासमा मात्र ६७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा पुस २७ गते बिहान र साँझ खाना व्यवस्था हुनेछ भने पुस २८ गते बिहान ब्रेकफास्ट र दिउँसो खाना उपलब्ध गराइनेछ । खाना व्यवस्थापनको जिम्मा यराकल क्याट्रिनलाई दिइएको छ, जसमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
मञ्च व्यवस्थापन उपसमितिका संयोजक गोविन्द पुडासैनीले मञ्च निर्माणमा ८ लाख रुपैयाँ खर्च हुने बताए । ‘आजबाट मञ्च निर्माण सुरु भएको छ । भोलि साँझसम्म तयार हुनेछ । सात–आठ लाखमा मञ्च बन्ने अनुमान छ,’ उनले भने ।
यातायात व्यवस्थापन उपसमितिका संयोजक माधव ढकालका अनुसार महाधिवेशन प्रतिनिधिले आफ्नै खर्चमा उपस्थित हुनेछन् । तर जिल्लाका नेताहरूको आग्रहमा काठमाडौँबाट गाडी उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन स्वीकार नगरेकाले पार्टीको कोषबाट खर्च हुने छैन । त्यसैले सबै खर्च प्रतिनिधिको व्यक्तिगत योगदानबाट व्यवस्थापन गरिएको धमलाले जानकारी दिए ।
उनले भने, ‘महाधिवेशनका लागि कसैसँग चन्दा मागिएको छैन । १० लाख कमाउनेले ५० हजार र २० लाख कमाउनेले एक लाख हालिसकेका छन् । यसरी चार–पाँच सय जना योगदानकर्ता छौं, दुई–तीन करोड रुपैयाँ सहजै जुट्नेछ ।’
विशेष महाधिवेशनमा दर्ता शुल्क राखिएको छैन । महाधिवेशन प्रतिनिधिलाई निःशुल्क झोला प्रदान गरिनेछ र हलभित्र प्रवेश स्वतन्त्र हुनेछ ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमाणि आचार्यका अनुसार २१ वटा उपसमितिले तयारी तीव्रताका साथ गरिरहेको छ । उनले भने, ‘५४ प्रतिशत हस्ताक्षर भएको अवस्थामा २५ जनाले फिर्ता लिए पनि करिब ५ सय जना प्रतिनिधि थपिएका छन् ।’