Butwal Today

नमूना मतपत्र छपाइ अन्तिम चरणमा

२४ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

निर्वाचन आयोगले नमूना मतपत्रको छपाइ अन्तिम चरणमा पुर्‍याएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षाका उद्देश्यले १० लाख थान नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको हो ।

आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ सुरु गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजसम्म नमूना मतपत्र छापिसकेर भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्ने तयारी भइरहेको छ ।

समानुपातिकतर्फको मतपत्रमा बन्दसूची बुझाएका ५८ दलका चुनाव चिह्न रहनेछ । समानुपातिक मतपत्र देशभर एकै आकारमा हुनेछ र कुल २ करोड ८ लाख ५० हजार थान मतपत्र छापिने आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार माघ ९ गतेसम्ममा समानुपातिक मतपत्र छापिसकेर माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने योजना रहेको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुँदैछ । प्रत्यक्षतर्फको मतदानका लागि २ करोड थान मतपत्र छापिनेछ । यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । आयोगले कुल मतदाताको ५ देखि १० प्रतिशत बढी थान मतपत्र छाप्ने योजना बनाएको छ ।

मतपत्र छपाइ स्थलमा नेपाली सेनाले सुरक्षा व्यवस्था गरिरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।