Butwal Today

इरानमा महँगीविरुद्धको विरोध प्रदर्शन फैलिँदै

१६ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

इरानमा महँगीको विरोधमा सुरु भएको प्रदर्शन राजधानी तेहरानदेखि अन्य शहरहरूमा पनि फैलिएको छ ।

रिआलको मूल्य अमेरिकी डलरको तुलनामा न्यूनतम विन्दुमा झरेपछि व्यापारीहरूले आइतवार तेहरानको ग्र्यान्ड बजार बन्द गरेका थिए । त्यसपछि सुरु भएको प्रदर्शन फैलिँदै गएको बीबीसीले जनाएको छ ।

इरानका आठभन्दा बढी मुख्य शहरमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । इरानी मुद्रा कमजोर भएपछि गभर्नर मोहम्मद्रेजा फार्जिनले राजीनामा दिएका थिए, जसलाई राष्ट्रपतिले स्वीकृत गर्दै पूर्वअर्थमन्त्री अब्दोल्नासेर हेम्मातीलाई नयाँ गभर्नरमा नियुक्त गरेका छन् ।

राष्ट्रपति मसूद पेजेश्कियानले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रदर्शनकारीका प्रतिनिधिसँग वार्ता गर्न निर्देशन दिएको बताएका छ । प्रदर्शनकारीहरूले विशेष गरी देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई तानाशाह भन्दै नाराबाजी गरेका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले एक्समार्फत इरानमा जारी विरोध प्रदर्शनप्रति आफ्नो समर्थन व्यक्त गरेको छ । इरानले ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण र परमाणु कार्यक्रम फेरि सुरु गर्ने तयारी गरिरहेको अवस्थामा भएको प्रदर्शन र अमेरिकाको समर्थनले अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

गएको जुन महिनामा इजरायल र इरानबीच १२ दिन लामो लडाइँ भएको थियो भने अमेरिकाले इरानमा रहेका यूरेनियम संवर्धनस्थलहरूमा हवाई आक्रमण गरेको थियो ।