© 2026
भैरहवा, १६ पुस ।
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि अपेक्षित रूपमा चल्न सकेको छैन । यस्तो अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणले एकीकृत पर्यटन विकास योजनाको आवश्यकतामाथि जोड दिएको छ ।
विमानस्थलको पूर्वाधार पूर्ण रूपमा तयार भइसकेको भए पनि उडान सङ्ख्या र यात्रु आवागमन बढाउन सबै सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य रहेको विमानस्थल व्यवस्थापनले औँल्याएको छ ।
विमानस्थलको वर्तमान अवस्था र क्षमता
२०२३ फागुन १७ मा आन्तरिक विमानस्थलको रूपमा उद्घाटन भएको र २०७९ जेठ २ गते (बुद्ध पूर्णिमाको दिन) अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा औपचारिक उद्घाटन गरिएको विमानस्थलको कुल क्षेत्रफल करिब ८५० बिघा रहेको छ, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा झन्डै दोब्बर हो ।
विमानस्थलमा बोइङ ७७७/२००, एयरबस ३३०/३०० र सोही क्षमताका वाइड बडी विमानहरू उडान र अवतरण गर्न सक्छन् । हालको १८ घण्टाको अपरेसन आवरमा अधिकतम २७ न्यारो बडी जहाज र यात्रुलाई सहजै ‘ह्यान्डल’ गर्न सक्ने क्षमता विमानस्थलसँग रहेको यसका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए ।
जजिरा एयरले २०७९ जेठ २ गते कुवेत–भैरहवा–कुवेत उडान सुरु गरेको थियो भने हाल थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक हप्ताको दुई दिन (आइतबार र बुधबार) उडान गरिरहेको छ ।
आन्तरिक उडानतर्फ बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले काठमाडौँ र बुद्ध एयरले पोखरा नियमित उडान गरिरहेका छन् । दैनिक १८ देखि २५ वटासम्म आन्तरिक उडान भइरहेका छन्, जसबाट दैनिक करिब १००० यात्रुको आवागमन हुने गरेको रावतको भनाइ छ ।
अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा २०२५ मा कुल ३९३ उडानमार्फत १९ हजार ५५१ यात्रुले सेवा लिएको तथ्याङ्क छ । आन्तरिक तर्फ २०२५ मा कुल १२ हजार ५३३ उडान मार्फत ७ लाख ५९ हजार ३७९ यात्रुले सेवा लिएको तथ्यांकमा उल्लेख रहेको छ ।
यद्यपि, डिसेम्बर १७ का दिन कतार एयरवेजको बोइङ ७७७ वाइड बडी कार्गो जहाजले सफलतापूर्वक उडान गरेको परीक्षणबाट विमानस्थल ठुला जहाजका लागि पूर्ण रूपमा तयार रहेको पुनः प्रमाणित भएको छ ।
विमानस्थल सञ्चालन नहुनुमा पूर्वाधारको अभाव नभएको प्राधिकरणको दाबी छ । समस्यालाई सम्बोधन गर्न यात्रु सेवा शुल्क, ल्यान्डिङ/पार्किङ/नेभिगेसन, पर्यटन शुल्कमा शत प्रतिशत छुट र ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिइएको सूचना अधिकारी रावतले जानकारी दिए । यति ठूलो सहुलियतका बाबजुद पनि विमानस्थल पूर्ण क्षमतामा चल्न नसकेकोमा प्राधिकरणले ‘कोर्स करेक्सन’ को आवश्यकता माथि जोड दिएको छ ।
नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स (नेशनल क्यारियर) सँग पर्याप्त जहाज नहुँदा विदेशी एयरलाइन्सको भर पर्नुपर्ने अवस्था आएको छ, जुन विमानस्थल नचल्नुको मूल गाँठो रहेको पर्यटन व्यवसायी सञ्जय बजिमयको ठम्याइ छ ।
यस सँगै पर्याप्त जहाजको अभाव र अन्तर्राष्ट्रिय वायुसेवाको अपरेसन बेस नहुँदा हवाई भाडा प्रतिस्पर्धी हुन सकेको उनको भनाइ छ ।
अरबौँको लगानी भएको यस क्षेत्रमा प्रतिफल प्राप्तिको कुरा परै जाओस्, व्यवसायीहरूको अरबौँको लगानी नै डुब्ने अवस्थामा पुगेको यहाँका व्यवसायीहरूको गुनासो रहँदै आएको छ ।
प्राधिकरणले खाडी मुलुक र बुद्धिस्ट मुलुकसँग सिधा सम्पर्क स्थापित गर्न तथा बजेट एयरलाइन्स मार्फत जोड्न सके लाभदायक हुने तथ्याङ्कले पुष्टि गरेको जनाएको छ ।
विमानस्थल, राष्ट्रिय/अन्तर्राष्ट्रिय एयरलाइन्स, होटल व्यवसायी, ट्राभल्स एजेन्सीहरू, स्थानीय निकाय र समुदायहरू एकै ठाउँमा आएर काम गर्नुपर्ने विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहको भनाइ छ ।
पर्यटकलाई झन्झट रहितको, सस्तो र सुरक्षित सुविधा दिन सबैलाई एउटै छाता मुनि ल्याई छुट प्रदान गर्ने र यदि कोही तयार नभएमा यस अभियानको नेतृत्व लिन नेपाल नागरिक उड्डयन प्राधिकरण तयार रहेको साहले बताए ।
अन्तर्राष्ट्रिय उडानको साथै प्राधिकरण आन्तरिक यात्रुको सुविधाप्रति पनि संवेदनशील रहेको साह बत्ताउँछन् । जीर्ण र साँघुरो आन्तरिक टर्मिनलको स्तरोन्नति, अति विशिष्ट (भिआईपी) कक्षको सुधार, नयाँ आन्तरिक अराइभल कक्षको सञ्चालन, ब्यागेज बेल्ट सञ्चालन र पार्किङ क्षेत्रको विस्तार/सुधारको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
कार्गो रोडको निर्माण समेत केही महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । अनवरत रूपमा विभिन्न सङ्घ संस्था निकायको सकारात्मक चासोले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको साहले बताए ।