© 2026
काठमाडौँ ।
साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ ।
अघिल्लो दिन उत्साहमूलक वृद्धि देखिएको बजारमा त्यो उत्साह कायम रहन नसक्दा आज नेप्से १०.५३ अङ्कले घटेर २६२२.८८ विन्दुमा झरेको हो । आज दिनभर कुल ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद–बिक्री भएका छन् ।
यस क्रममा कुल ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्बभन्दा बढीको कारोबार भएकोमा आज करिब पौने ५ अर्बमा सीमित भएको छ ।
आजको कारोबारमा बजारमा मन्दी देखिँदा ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज बजारमा १३ समूहगत सूचकमध्ये विकास बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको सूचक घटेको छ । सबै समूहको उतारचढाव एक प्रतिशतभन्दा कम रहेको छ ।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाएका छन् । एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य ९.९४ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.७६ प्रतिशतले वृद्धि भएको छ । आज विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २३ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख र शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल बजार पुँजीकरण ४४ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ ।