© 2026
बुटवल, १४ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कमला पन्थ सामान्य खेती किसानीबाट आफ्नो घर चलाइरहेकी थिइन ।
गाडी व्यवसायी श्रीमान् र दुई छोरा पढाइमा व्यस्त । उनी घरायसी कामसँगै खेतीपाती र गाईभैसी पालेर दिनहरू कटाइरहेकी थिइन । उनले घर खर्च र आफ्नो सामान्य खर्च चलाउन आफै आम्दानी गर्ने गरिरहेकी थिइन् ।
तर ५ वर्ष अगाडि एक्कासि उनलाई ढाड दुख्ने समस्या भयो । चिकित्सकले उनलाई शरीरलाई बल पर्ने काम नगर्ने सुझाव दिएपछि उनको दैनिकी फेरियो । उनी गाईभैसीको सट्टामा मौरीसँग रमाउन थालिन् ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै केही काम नगरी बस्न नसक्ने कमलाले आफ्नो कामको विकल्पमा मौरी पालन व्यवसाय गर्न थालिन् । चार वर्ष अगाडि चार घार मौरीलाई ४० हजार रुपियाँमा किनेर व्यवसाय गर्न सुरु गरिन ।
कमला भन्छिन्–‘पहिले हुन्छ हुँदैन थाहा थिएन तर पनि जोखिम मोलेर नै काम सुरु गरेँ । पहिलो वर्ष त मैले घार बढाउने साेंचमा लागेँ वर्षाको समय थियो त्यस बेला मौरीलाई हुर्काउन जोगाउन गाह्रो सिर्जन मानिन्छ तर पनि मैले राम्रोसँग हुर्काउन सकेँ ।
यस लगत्तै मैले यहाँ ५० घार मौरी थपेर व्यवसायलाई अलि बलियो बनाउने साेंचले नवदुर्गा मौरी फर्म नाममा दर्ता गरेर व्यवसायलाई ठुलो बनाएको हो । यो व्यवसायमा पन्थका श्रीमानको ठुलो सहयोग छ । उनले मौरीको व्यवस्थापन र आहारहरूको व्यवस्थापन गरिरहेका छन् ।
मौरी सिजन अनुसारको फूलहरूमा चराउन आवश्यक पर्छ । मौसम अनुसारको ठाउँमा लैजान र चराउन सके यसले राम्रो मह उत्पादन हुने भएकाले पन्थ दम्पतीले लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा मौरीलाई चराउन पुग्दछन् ।
उनी भन्छिन्–‘सिजन र धेरै फुलहरू फुल्ने स्थानहरू हामीले छनोट गरेका छौँ । समय अनुसार हामीले मौरीलाई चराउन लैजान्छौ । अहिले ५० घार मौरी हामीले रुपन्देहीको फर्साटिकरमा लगेर चराएका छौ । स्थानीय व्यक्तिको सहयोगमा मौरी अहिले त्यहाँ चरिरहेको छन् ।’
यस अघि ५० घारलाई स्थानीय किसानसँग सहकार्य गरेर तोरी सिजनमा दाङमा पु¥याएर चराउने गरेका छन् । दाङ सहित विभिन्न फूल फुल्ने समयमा नवलपरासीको जङ्गलमा चिउरीको फूलमा चराउने गरेको छ ।
त्यसै गरी गहुँ तोरी सिजनमा लुम्बिनीको मर्चवारमा लैजाने गरेको बताइन । त्यहाँ हुने विभिन्न प्रकारका दाल प्रकारका फूलहरू र धनिया र फापरको फूल मौरीका लागि अत्यन्त उपयुक्त हुने र धेरै मात्रामा मह उत्पादन गर्न सकिने पन्थको भनाइ छ ।
तर बर्सातमा मौरीलाई बचाउन निकै सकस पर्छ । त्यो समयमा कम फूलहरू फुल्छन् । त्यसमाथि झाडी हुने समस्याले गर्दा विभिन्न जातीका औषधीहरू छर्ने प्रचलन सुरु भएको छ । यस कारणले मौरीहरूले खाने दुबो पनि हराउँदै गएको हो । यो एउटा मौरी पालन व्यवसायका लागि ठुलो समस्याको रूपमा देखा परेको छ ।
त्यसो त पन्थ दम्पतीले मौरीलाई निकै माया र सुसारका साथ हुकाईरहेका छन् । घार बढाउँदा मह कम हुनी भएकाले कुनै समयमा मह निकाल्ने र कुनै समयमा घार बढाउने गरेको उनको भनाइ छ ।
कमलाले वर्षमा तीन पटक सम्म मङ्सिर, माघ र चैत महिनामा मह काट्ने गरेकी छन् एउटा घारबाट एक पटकमा १० केजी सम्म निकाल्ने गरेकी छन् । पहिलो वर्ष ३ क्विन्टल मह सङ्कलन गरेर बिक्री गरेकी पन्थले प्रत्येक वर्ष यही तुलनामा मह काड्ने गरेकी छिन् ।
उनले प्रति केजी ७ सय रुपियाँमा बेच्ने गरेकी छन् । काठमाडौँ, बुटवल र भैरहवासँगै स्थानीय बजार उनको अहिलेको मुख्य बजार हो । अझै आउँदा दिनमा महलाई ब्रान्डिङ्ग गरेर लेवल लगाएर विभिन्न स्थानमा बेच्ने रहर छ ।
यसरी आफनै पौरखमा व्यवसाय गरिरहेकी कमलाले तीनै तहका सरकारले व्यवसायलाई हेर्ने दृष्टिकोण अझै बलियो सकारात्मक हुनुपर्नेमा जोड दिइन । यति भनिरहँदा उनले तिलोत्तमा नगरपालिकाबाट मह काड्ने मेसिन अनुदानमा आधा पैसा बुझाएर ल्याएकी छन् । यसले पनि मह निकाल्न सहज भएको बताइन ।
यति लामो मौरीसँगको सङ्गतमा पन्थ भन्छिन् मौरी जत्तिको ईमान्दार मानिस हुनी हो भने परिवर्तनका लागि केही गर्नै पर्दैन । मौरी आफूले बाहिर खानेकुरा पाउँदा सम्म कसैले दिएको खाँदैन । बाहिर कुनै उपाय लागेन भने मात्रै हो खाने । मौरी अत्यन्त ईमान्दार प्राणी हो ।
त्यसैले यसको ईमान्दारिताले मलाई मोहित बनाएको छ ।