© 2026
नेपालगञ्ज, ७ पुस ।
“भित्री शान्ति विश्वभरि सद्भाव” भन्ने मूल नारासहित नेपालगञ्जमा विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । योग समिति नेपाल र नेपाल चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराज शर्मा भट्टराईले ध्यानको महत्वबारे सरल भाषामा जानकारी गराए । उनले दैनिक जीवनको व्यस्तताबाट केही समय मात्र ध्यानका लागि छुट्याउन सके मानसिक शान्ति प्राप्त हुनुका साथै शरीर पनि स्वस्थ रहने बताए ।
नियमित ध्यानले तनाव, चिन्ता कम गर्नुका साथै नसर्ने रोगहरूबाट जोगिन सहयोग पुग्ने उनको भनाइ थियो । ध्यान शारीरिक अभ्यास मात्र नभई सकारात्मक सोच, अनुशासित र सन्तुलित जीवनशैलीको आधार भएको उनले बताए । “आजको जीवनशैलीले मानिसलाई शारीरिकभन्दा बढी मानसिक रूपमा अस्वस्थ बनाइरहेको छ,” उनले भने, “त्यसैले ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउन आवश्यक छ ।”
नेपाल चिकित्सक संघ भेरी शाखाका प्रमुख रूपानन्द अधिकारीले चिकित्सकीय दृष्टिले ध्यानको फाइदाबारे जानकारी दिए । उनले ध्यानले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव र भावनात्मक असन्तुलन कम गर्न मद्दत गर्ने बताए । ध्यानलाई जीवनशैलीमा अपनाउँदा व्यक्ति मात्र होइन, परिवार र समाज नै स्वस्थ बन्ने उनको भनाइ थियो ।
कार्यक्रममा योग समिति नेपालका योग प्रशिक्षक, सदस्यहरू, नेपालगञ्जका चिकित्सकहरूलगायत चार सयभन्दा बढी योगी तथा स्वास्थ्यप्रेमीहरूको सहभागिता रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदीले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । विश्व ध्यान दिवसको अवसरमा सहभागी सबैले सामूहिक ध्यान अभ्याससमेत गरेका थिए । यस कार्यक्रमले ध्यानप्रति जनचेतना बढाउने र स्वस्थ, सन्तुलित तथा शान्त जीवनशैलीतर्फ सबैलाई प्रेरित गर्ने अपेक्षा आयोजकले गरेका छन् ।