© २०२३
जितपुर, २ पुस ।
वाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा वाणगंगा वेलफेयर सोसाइटीद्वारा आयोजित १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को समापन पुर्वमन्त्री शुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । मंसिर १८ गतेदेखि सुरु भएको उक्त महोत्सव विविध सांस्कृतिक, कृषि तथा औद्योगिक गतिविधिका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्वमन्त्री आचार्यले एउटै नगरपालिकामा बारम्बार एबम २ वटा महोत्सव आयोजना गर्दा बाहिर नकारात्मक सन्देश जान सक्ने उल्लेख गर्दै आगामी दिनमा नगरपालिकासँग समन्वय र सहमतिका आधारमा महोत्सव आयोजना गर्न आवश्यक रहेको बताएका थिए । उनले जितपुरमा आयोजना हुने कपिलवस्तु महोत्सव मुलुकमै चर्चित बन्दै गएको उल्लेख गर्दै यसले जिल्लाको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले महोत्सव अत्यन्त सफल भएको बताउँदै लाखौँ दर्शकले अवलोकन गरेको जानकारी दिए । उनले स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको प्रदर्शनी र बजारीकरणमा महोत्सवले सहयोग पु¥याएको भन्दै नगरपालिकाले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको स्पष्ट पारेका थिए ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूले महोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।समापन समारोहमा महोत्सवका प्रायोजक संघ–संस्थाहरूलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । महोत्सवले कपिलवस्तु जिल्लाको कृषि, पर्यटन र औद्योगिक सम्भावना उजागर गर्नुका साथै स्थानीय उत्पादन, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवमा तीन सयभन्दा बढी स्टल रहेका थिए भने एक लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको अपेक्षा गरिएको थियो । महोत्सव स्थलमा जानकी मन्दिरको झल्को दिने भव्य प्रवेशद्वार निर्माण गरिएको थियो भने स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रमका अध्यक्ष तथा वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाणले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्रायोजक, कलाकार, सुरक्षाकर्मी,पत्रकार , स्वयंसेवक तथा दर्शकप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक विष्णु थापाले मन्तव्य राखेका थिए भने महासचिव तथा महोत्सव निर्देशक दिनेश क्षेत्रीले कार्यक्रमको सहजीकरण गरेका थिए ।