© २०२३
काठमान्डौ, २८ मंसिर ।
आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि दुई महिनाअघि कायम भएको रेकर्ड तोड्दै सुनको भाउ नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर सुनले रेकर्ड बनाएको थियो ।
अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो । शनिबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य अझै कात्तिक ३ गते (अक्टोबर २०) कायम भएको ऐतिहासिक रेकर्ड पार गर्न सकेको छैन । सो दिन सुनको भाउ प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलरसम्म पुगेको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार ३ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार तिहारको बिदाका कारण कात्तिक ४ देखि ८ गतेसम्म नेपालमा सुनचाँदीको मूल्य समायोजन हुन सकेको थिएन । यसका साथै अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य छिटो रेकर्ड तोड्न पुगेको जनाएको छ ।
यसैबीच, चाँदीको मूल्य भने हालसम्मकै उच्च बिन्दुबाट घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार ८० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ८२५ रुपैयाँमा झरेको छ ।