© २०२३
काठमाडौँ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेर जनार्दन शर्मातिर लागेका पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय टेकबहादुर बलम्पाकी र सीता दाहाल फेरि प्रचण्डकै नेतृत्वमा फर्किएका छन् । बलम्पाकी र दाहाल पतिपत्नी हुन् ।
उनीहरूले शुक्रबार प्रचण्डलाई भेटेर आफूहरू पुनः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मै फर्किएको जानकारी गराएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य ले बताएका छन् । गएको कात्तिक २९ गते बलम्पाकी र दाहालले वक्तव्य जारी गर्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आवद्ध नहुने बताएका थिए ।
उनीहरूले त्यतिबेला जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान मा लाग्ने घोषणा गरेका थिए ।
महोत्तरी स्थायी घर भएका बलम्पाकी र दाहाल तीन वर्षअघि एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । जनार्दन शर्मातिर लागेका उनीहरूले २८ दिनमै शर्मा समूह पनि छाडेर पुर्ख्यौली लाइन—प्रचण्ड नेतृत्वतिर फर्किएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता गिरीराजमणि पोखरेल सँगै प्रचण्ड निवास पुगेका दम्पतीले आफूहरू पुनः नेकपामै फर्किएको जानकारी गराएको आचार्यले बताए । नेता पोखरेलले भने आफू प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवास पुगेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् “नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई आज उहाँकै निवासमा भेट्न गएका थियौँ । आजै उहाँको जन्मदिन रहेछ । जन्मदिनको हार्दिक शुभकामना ।”