© 2026
काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज (मंसिर २६ गते) चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । आज उनले मन्त्रिमण्डलमा चार नयाँ मन्त्री थप्न लागेकी छन् । यसका लागि प्रधानमन्त्री कार्कीले कुमार इङनाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठ को नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छन् ।
सोहीअनुसार आज दिउँसो ३ बजे हुने शपथ समारोहमा इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, चौलागाईंले वन तथा वातावरण, र श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी ग्रहण गर्ने छन् ।
कुमार इङनाम
कुमार इङनाम अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता तथा वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन् । अहिले उनी ‘काठमाडौं स्कुल अफ ल’ मा प्राध्यापक छन् । यसअघि उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अध्यापन गर्थे । उनले कानुनसम्बन्धी थुप्रै पुस्तक लेखेका छन् ।
राजेन्द्रसिंह भण्डारी
भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् । उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक प्रमुखका रूपमा परिचित छन् ।
माधव चौलागाईं
चौलागाईं जनस्वास्थ्य विज्ञ हुन् । कर्णाली क्षेत्रसम्बन्धी गहन अनुसन्धान गर्दै आएका उनी ‘सपादलक्ष कर्णाली’ पुस्तकका लेखक हुन् । साथै ‘मान्ठ हुँ म मान्ठ’ गीत पनि उनले नै लेखेका हुन् ।
श्रद्धा श्रेष्ठ
श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् । उनी पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखको भूमिकामा कार्यरत थिइन् । चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् अब १४ सदस्यीय भएको छ । यता, तीन मन्त्रालय सम्हालिरहेका अनिलकुमार सिन्हाको भने एक मन्त्रालय फेरिएको छ । कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइने भएपछि सिन्हालाई त्यसको सट्टा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को जिम्मेवारी दिइने भएको छ ।
सिन्हाले सम्हाल्दै आएका उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय भने यथावत् रहने छन् ।