© 2026
काठमान्डौ, २६ मंसिर ।
सशस्त्र प्रहरी बलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७ बुँदे परिचालन नीति तय गरेको छ । सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाका अनुसार निर्वाचन सुरक्षा व्यवस्थापनलाई त्रुटिरहित, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन नीति तर्जुमा गरिएको हो ।
डीआईजी थापाले चुनावका लागि तोकिएको जिम्मेवारी उच्च व्यावसायिकता र अनुशासनसहित पूरा गर्ने लक्ष्यसहित नीति लागु गरिएको बताए ।
नीतिअनुसार निर्वाचनको एक महिना पहिल्यै प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा वेश स्थापना गरिनेछ । त्यस्तै स्ट्राइकिङ तथा मोबाइल टोली १५ दिनअघि नै सक्रिय रूपमा परिचालन गरिने उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले यसपटकको निर्वाचन सुरक्षा चुनौतीपूर्ण हुने सशस्त्र प्रहरीले आकलन गरेको छ ।

