© २०२३
काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सुशासन कायम गर्नु जनआन्दोलनको प्रमुख मुद्दा भएको बताएका हुन् । उनले पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भइसकेको जानकारी पनि दिएका छन् ।
मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियार लगायतका राज्यका निकायहरूमा सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतःस्फूर्त रूपमा प्रभावकारी काम गरिरहेको उल्लेख गरे । उनले सरकारले निर्वाचनको जिम्मेवारी समेत पाएकोले समयमै निर्वाचन सञ्चालन गर्नका लागि तयारी गरिसकेको जानकारी पनि दिएका छन् ।
यसै क्रममा मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूलाई सम्बोधन गर्दै, आगामी निर्वाचनमा महिला पत्रकारहरूले राजनीतिमा आएर देशको नेतृत्व गर्ने अवसर लिन सक्ने सुझाव पनि दिएका छन् ।