© २०२३
काठमान्डौ, २४ मंसिर ।
आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले थापालाई प्रत्यक्षतर्फ एकमात्र उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।
संगतका अनुसार, प्रत्यक्षतर्फ थापाको नाममा पूर्ण सहमति जुटेको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक सूचीमा राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा परेका छन् ।
यसअघि पनि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही–४ र धनकुटाबाट सिफारिस भइसकेको थियो। थापा काठमाडौं–४ बाट तीन पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । त्यस्तै, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक कोटाबाट संसद सदस्य बनेका थिए ।