© २०२३
नेपालगञ्ज, २४ मंसिर ।
बाँकेका अश्वपालक महिलाहरूले वैकल्पिक पेशा अपनाउनका लागि सिलाइ–कटाइ तालिम लिन थालेका छन् । नेपालगञ्जको परम्परागत यातायात साधन टाँगा चल्न छाडेपछि टाँगा र घोडा–खच्चर व्यवसायीहरूको पेशा संकटमा परेको भन्दै पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेले आयोजना गरेको तीन महिनाको सिलाइ–कटाइ तालिममा २० जना अश्वपालक महिलाहरूले सहभागिता जनाएका हुन् ।
नेपालगञ्जमा टाँगा नचल्दा टाँगा तथा घोडा–खच्चर व्यवसायीहरूको जीवनयापन नराम्ररी प्रभावित भएको छ । उनीहरूको पुरानो पेसा धरापमा पर्दै गएपछि वैकल्पिक आय–आर्जनमा जोडिन सहज होस् भन्ने उद्देश्यले अश्वपालक महिलाहरूलाई लक्षित गरी सिपमूलक सिलाइ–कटाइ तालिम सञ्चालन गरिएको तालिम आयोजक पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेका परियोजना प्रमुख सुदर्शन भट्टराईले बताए ।
मंगलबारदेखि सुरु भएको तालिममा सहभागी महिलाहरूले तालिमपछि सिलाइ मेसिन प्राप्त हुने अपेक्षा व्यक्त गरेका थिए । उनीहरूको मागलाई सम्बोधन गर्दै भेरी प्राविधिक शिक्षालय नेपालगञ्जका प्रमुख आशा श्रेष्ठले मेसिनभन्दा अघि ध्यान दिएर सिप सिक्न आग्रह गरिन्। तीन महिनापछि आवश्यक परे थप एडभान्स तालिमका लागि भेरी प्राविधिक शिक्षालयले पनि सहयोग गर्न सक्ने उनले बताइन् ।
गोखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको तालिममा सँगिता गौतमले प्रशिक्षण दिइरहेको गोखनाथ ट्रेनिङ सेन्टरकी सञ्चालक मधु खड्काले जानकारी दिइन् । टाँगा बन्द भएपछि काम नपाएका कारण कतिपय टाँगा व्यवसायीहरू फुर्सदिला बनेका छन् । आम्दानी ठप्प भएपछि घरखर्च चलाउनै मुस्किल परेको टाँगा व्यवसायीहरूको गुनासोपछि यो तालिमको योजना बनाइएको आयोजक संस्थाले जनाएको छ ।
एकैजनासँग ३ देखि ६–७ वटासम्म घोडा–खच्चर रहेका छन्। कतिपयका घोडा–खच्चरहरू खाना नपुगेर वा रोग लागेर मर्न थालेको उनीहरूको गुनासो छ । सिपमूलक तालिम सिकेर अन्य वैकल्पिक पेशामा लाग्न सके घरखर्च चलाउन सहज हुने सहभागी महिलाहरूले अपेक्षा व्यक्त गरेका छन् ।