© २०२३
बुटवल ।
रुपन्देही क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले दोहोरो सिफारिस गरेको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ । संस्थापन पक्षले पूर्व अर्थराज्यमन्त्री तथा तीन पटक प्रतिनिधिसभामा निर्वाचित भरतकुमार शाहको नाम एकल सिफारिस गरेपछि विवाद चर्किएको हो ।
शाहको नाम सिफारिसप्रति असहमति जनाउँदै इतर पक्षले विष्णु पोखरेलसहित तीन जनाको नाम केन्द्रीय कार्यालयमा पठाएको छ ।
इतर पक्षको आरोप अनुसार कांग्रेस विधानले उम्मेदवार सिफारिसमा महासमिति सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई अनिवार्य रुपमा सहभागी गराउनुपर्ने प्रावधान हुँदाहुँदै शाह पक्षले आफूहरूलाई जानकारी नै नदिई एकलौटी सिफारिस गरेको छ ।
क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले पनि प्रक्रियामाथि आपत्ति जनाउँदै क्षेत्रीय समितिले महासमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिलाई सहभागी गराई मात्र सिफारिस गर्नुपर्ने बताए । तर रुपन्देही–५ मा आफू अनुकूलका व्यक्ति मात्रलाई खबर गरेर सिफारिस गरिएको उनको आरोप छ ।
इतर पक्षले विष्णु पोखरेलका साथ–साथै महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सचिव प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको छ ।
उता रुपन्देही–५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले भने बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले पनि विरोध नगरेकाले एकल सिफारिस गरिएको दाबी गरे ।
त्यस्तै, संस्थापन पक्षले समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभाका लागि सूर्यमति उपाध्याय र शेषमन यादवलाई सिफारिस गरेको छ ।
इतर पक्षले समानुपातिकतर्फ प्रतिनिधिसभामा अधिवक्ता शेषमन यादव, डोलबहादुर थापा, दिलमाया कँडेल, खडानन्द खनाल र सीता पोखरेलका नाम सिफारिस गरेको छ । राष्ट्रियसभाका लागि रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकालको नाम प्रविष्ट गरेको छ ।