© २०२३
काठमान्डौ, २३ मंसिर ।
नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले आ–आफ्ना धारणा सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ । महाधिवेशन केन्द्रित विषयमा आज राजधानीमा दुई महत्वपूर्ण भेला तथा संवाद कार्यक्रम हुँदैछन् ।
प्रेस चौतारी नेपालले एमालेका सचिव लेखराज भट्टसँग महाधिवेशनसम्बन्धी संवाद कार्यक्रम आयोजना गरेको छ । भट्टसँगको कार्यक्रम आज दिउँसो २ बजे सुरु हुनेछ । प्रेस चौतारीले हालसम्म पार्टीका संस्थापन पक्षका नेताहरूसँग नियमित रूपमा संवाद गर्दै आएको छ ।
उता, संस्थापन इतर—अर्थात् विद्या भण्डारी–ईश्वर पोखरेल समूहतिर खुलेका नेताहरूको सहभागितामा महिला नेतृहरूको अन्तरसंवाद कार्यक्रम पनि आजै हुनेछ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ बिन्दा पाण्डे, रचना खड्का, उषा किरण तिम्सिनालगायत नेतृहरूले पार्टी महाधिवेशन र आगामी नेतृत्वबारे छलफल गर्ने कार्यक्रम दिउँसो १ बजे होटल हार्दिकमा तय गरिएको छ ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवैले प्यानल बनाएर नेतृत्व प्रतिस्पर्धाका लागि तयारी तीव्र पारेका छन् ।