नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउने उद्देश्यले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यका घरघरमा पत्र पठाउन थालिएको छ ।

पार्टीको बागमती प्रदेशका इञ्चार्ज तथा महाधिवेशनका लागि गठन गरिएको जनपरिचालन कमिटीका सचिव राजन भट्टराईका अनुसार लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर महाधिवेशनमा जानुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीका तर्फबाट पत्र तयार पारेर पठाउन थालिएको हो ।
अध्यक्ष ओलीले महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रुपान्तरण गर्नुपर्ने आग्रह गरेका छन् ।
उनले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गरेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भएको टिप्पणी पनि गरेका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना बनाइएको सचिव डा. भट्टराईले जानकारी दिएका छन् ।



