Butwal Today

कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २१ मंसिर ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा उठाउने काम ‘करप्सनको भाग’ भएको भन्दै यसलाई राष्ट्र बैंकले क्षम्य नमान्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कडाइका साथ लिने बताए । उनले भने, “सरकारी बैंकहरूबाट पैसा मिलाइदिन्छु भनेर माग भए सरकार रिस्क लिन्छ, तर निजी बैंकबाट यस्तै भए हामी गम्भीर रूपमा लिनेछौँ । कुनै व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।”

त्यस्तै, गभर्नर पौडेलले आर्थिक गतिविधि सहज बनाउन राष्ट्र बैंकले विभिन्न नीतिमा सुधार गरेको जानकारी दिए । उनले भने, “मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउन सरल बनाएका छौँ । महानगरका धेरै बैंक शाखा बन्द गर्न अनुमति दिइएको छ । यसबाट बैंकहरूले राम्रो नाफा र लगानी गरी डिजिटल कारोबारमा ध्यान दिन सकून् र अर्थतन्त्रको गतिमा सहयोग पुगून् ।”

उनले बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिँदै सहि नीति निर्माणमा जोड दिइएको बताउँदै भने, “सबैको गुनासो सुनेर अगाडि बढ्ने प्रयास गर्छौँ। बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्न राष्ट्र बैंक केन्द्रित छ ।”

गभर्नर पौडेलले आर्थिक गतिविधि र प्रगतिको उदाहरण दिँदै भने, “अर्थतन्त्रको मुभमेन्ट मानसिकता (मास साइकोलोजी)  मा भर पर्छ । गएको १० वर्षमा हिमालयन जाभादेखि आईटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । सडक र पूर्वाधारमा पनि सुधार भएको छ । श्रीलंका अप्ठ्यारो अवस्थामा पुग्दा पनि सुधारको गति समात्न सक्यो, नेपालले पनि गति समात्नेछ ।”

उनले आर्थिक नीति बलियो भए पनि मनोबल कमजोर रहेको भन्दै यसलाई उकास्न र राम्रो काममा केन्द्रित रहनुपर्नेमा जोड दिए ।

गभर्नर पौडेलले सन्तानलाई विदेश पठाउने प्रवृत्ति र राजनीतिमा लगाउने विषयमा पनि टिप्पणी गर्दै भने, “एक दशकभन्दा बढी ‘केही हुँदैन’ भन्ने मानसिकता भयो र छोराछोरी विदेश पठाइयो । उनीहरूलाई फर्काएर ल्याउनुपर्छ, तर मन्त्री बनाउने वा राजनीतिक रेसमा लैजानु हुँदैन ।”

उनले ‘रातारात’ सुधार नहुने उल्लेख गर्दै बिस्तारै काम अघि बढाइने बताए । “फेलियर हुनु नराम्रो होइन, तर राम्रा स्टोरीहरूको प्राथमिकता दिनुपर्छ । जस्तै म मीनबहादुरजीलाई हेर्छु, उहाँले दुई महिनामा देखाउनुभयो ।”

कालोसूची व्यवस्थाबारे उनले थपे, “हाम्रोमा धेरै कालोसूचीमा परेका छन् । निर्माण उद्योगमा माइक्रोफाइनान्स जस्तो मोडल छ । एउटाले राम्रो गरेन भने सबैलाई राखेजस्तो हुनु हुँदैन ।”