© २०२३
काठमान्डौ, १९ मंसिर ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको छ ।
आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि व्यक्त गर्दै शुक्रबार दिउँसो केन्द्रीय कार्यालय पुगेका थिए । उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्नो असन्तोष राखेका थिए ।
त्यस क्रममा च्यासलमै उपस्थित अर्को समूहसँग उनीहरूबीच हात हालाहाल भएको हो ।
एमालेको महाधिवेशन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । तर, आदिवासी जनजाति लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरूले प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक नभएको भन्दै विरोध जनाएका थिए । उनीहरूले डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै चर्को स्वरमा आपत्ति पनि व्यक्त गरेका थिए ।