Butwal Today

२६ वटा राजनीतिक दलले चुनाव नलड्ने

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १९ मंसिर ।

निर्वाचन आयोगमा दर्ता भएका १४३ राजनीतिक दलमध्ये २६ दलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । यसमध्ये दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् ।

आयोगका अनुसार ११७ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन पेस गरेका छन् । ती निवेदन हाल अध्ययनअन्तर्गत रहेको आयोगले जनाएको छ। बाँकी २६ दलले भने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् ।

दल दर्ता निवेदन नदिने कम्युनिस्ट दलहरूमा माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) समावेश छन् ।

त्यस्तै अन्य दलहरू– चुरेभावर लोकतान्त्रिक पार्टी, आम आदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, नेश्नलिस्ट पिपल्स पार्टी, नेपाल विवेकशील पार्टी र पुनर्जागरण पार्टी नेपालले पनि चुनावमा भाग नलिने बताएका छन् ।

यसका साथै, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेपाल राष्ट्रवादी पार्टी, मधेशी जनअधिकार फोरम मधेश, शिव सेना नेपाल, नेपाल समाजवादी कांग्रेस, बहुजन समाज पार्टी नेपाल, जनराष्ट्रवादी पार्टी नेपाल, नेपास् राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च र नेपालवाद पनि निर्वाचनमा सहभागी नहुने दलहरूमा परेका छन् ।