© २०२३
पाल्पा ।
पाल्पा प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा सिद्धार्थ राजमार्ग होेट आर्यभञ्ज्याङ बजार नजिकैबाट अवैध रूपमा ओसार–पसार भइरहेको ठूलो परिमाणको रासायनिक मल बरामद गरेको छ।
स्याङ्जाबाट बुटवलतर्फ गइरहेको लु–००१ ख ९५९ नम्बरको ट्रकबाट १२० बोरा बराबर ६० क्विन्टल युरिया मल बरामद भएको प्रहरीले जनाएको छ। बरामद मलमा कृषि सामग्री केन्द्र, कुलेश्वर काठमाडौँ लेखिएको प्याकेजिङ भेटिएको छ।
प्रहरीका अनुसार काठमाडौँबाट नेपालगञ्जका बीउ–बिजन बिक्री गर्ने व्यापारीका लागि अवैध रूपमा पठाइएको मल पश्चिम तराईका जिल्लामा उच्च माग भएकै कारण कोटा प्रणालीको दुरुपयोग गर्दै ओसारपसार गरिएको आशंका गरिएको छ।
मल तस्करीमा संलग्नहरूबाट खुलेर अभिव्यक्ति नआए पनि प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि बरामद गरिएको मल तथा सवारीसाधनलाई बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको जनाएको छ।
स्थानीयका अनुसार हरेक वर्ष खेतीको प्रारम्भिक मौसममै रासायनिक मलको अभाव देखिने भएकाले आधिकारिक वितरकबाटै मल बिल–बिजक विना बजारमा बिक्रि हुने शंका बढ्दै गएको छ। यसअघि पनि काठमाडौँको कोटा प्रणालीबाट बाहिर पठाइने मल अवैध रूपमा पश्चिमका जिल्लामा पुर्याउने प्रकरणहरू दोहोरिँदै आएका थिए।
रासायनिक मलको तस्करी र अवैध ढुवानीमा यस क्षेत्रको राजमार्ग कुनै नयाँ मार्ग होइन। मल मात्र नभई पश्चिम तराईबाट संकलित गोरु समेत यही सिद्धार्थ राजमार्ग वा कालीगण्डकी करिडोर प्रयोग गरी तस्करी हुँदै आएको सुरक्षास्रोतले जनाएका छन्।