© २०२३
काठमान्डौ, १७ मंसिर ।
समस्याग्रस्त सहकारीका साना बचतकर्ताले अब आफ्नो बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि तयार गर्दै पीडित साना बचतकर्तालाई चरणबद्ध रूपमा रकम भुक्तानी गर्ने तयारी गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालन कार्यविधिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाइसकेको प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार, कार्यविधिको मस्यौदामा १ लाख रुपैयाँसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव रहेको छ । “१ लाखसम्मको बचत भएका व्यक्तिलाई पूर्ण रकम दिनेबारे अर्थ मन्त्रालयको राय प्रतिक्षा गरिरहेका छौँ,” भट्टले बता ए।
सहकारी मन्त्रालयले चक्रीय कोषका लागि अर्थ मन्त्रालयसँग २ अर्ब रुपैयाँ माग गरेको छ । अर्थ मन्त्रालयले पनि कार्यविधिको अध्ययन गरिरहेका कारण कुल भुक्तानीको आकार अझै यकिन नभएको मन्त्रालयले जनाएको छ ।
पछिल्ला महिनाहरूमा समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताले निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरूको दबाबसँगै सरकारले चक्रीय कोषमार्फत साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाएको हो ।
यसअघि वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पनि ५ लाख रुपैयाँसम्मका बचतकर्तालाई सरकारले कोष खडा गरेर रकम भुक्तानी दिन सिफारिस गरेको थियो । कोषमा सहकारी सञ्चालक वा ठगीका मुद्दामा आवद्ध व्यक्तिहरूको सम्पत्ति बिक्रीबाट आउने रकमसमेत राख्ने सुझाव आयोगले दिएको छ ।
सरकारले सोही सुझाबअनुसार कार्यविधि बनाएर कार्यान्वयन चरणमा अघि बढेको मन्त्रालयले जनाएको छ ।