© 2026
पाल्पा ।
ग्रामिण बस्तीमा खाद्यान्न तथा तरकारी–फलफुल खेतीलाई वन्यजन्तुबाट जोगाउन चुनौती बढेपछि डिभिजन वन कार्यालय पाल्पाले विकल्पका रूपमा जडीबुटी खेतीको प्रवर्द्धन थालेको छ। वनवाली तथा औषधीय वनस्पतिको ठूलो सम्भावना रहेको पाल्पामा कार्यालयले विशेषगरी टिमुर खेतीलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजना अघि सारेको हो।
रिब्दीकोट गाउँपालिकास्थित ठिमुरे क्षेत्रलाई टिमुर उत्पादनका लागि ‘पकेट क्षेत्र’ बनाउने तयारी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। हालसम्म आफ्नै जमिनमा उम्रिएका बिरुवाबाट उत्पादन गर्दै आएका स्थानीय किसानले राम्रो आम्दानी गर्न थालेपछि कार्यालयले व्यवस्थित र आधुनिक tarikale खेती विस्तार गर्न लागिएको हो।
ठिमुरेमा व्यवसायिक रूपमा टिमुर खेती गर्दै आएका २४ भन्दा बढी किसानलाई जमिन तथा बिउ छनोटदेखि उत्पादन, भण्डारण र बजारसम्मका प्रक्रियाबारे तालिम प्रदान गरिएको छ। ‘जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार खेती विस्तार तथा संकलन सम्बन्धी’ तालिममा वरिष्ठ डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले पाल्पामा जडीबुटी खेतीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै टिमुर खेती आयआर्जनको भरपर्दो माध्यम बन्न सक्ने बताए।
वरिष्ठ वन अधिकृत मुना शर्मा पनि आयुर्वेदिक चिकित्सामा टिमुरको महत्व ठूलो भएको बताउँछिन्। उनका अनुसार टिमुर खेतीले जमिनको उचित उपयोगसँगै दीर्घकालीन आम्दानीको स्रोत तयार गरिदिने र ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्न सहयोग पुर्याउने सम्भावना छ।
माथागढी र रिब्दीकोटका केही स्थानमा परापूर्वकालदेखि टिमुर खेती हुँदै आए पनि यस वर्षदेखि डिभिजन वन कार्यालयको पहलमा व्यवसायिक ढंगबाट यसको विस्तार थालिएको छ। स्थानीय किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गर्दै वन कार्यालयले नयाँ आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।