© २०२३
काठमान्डौ, १० मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको ‘ब्याक गियर’ नहुने अभिव्यक्ति दिएपछि पार्टीका दुई केन्द्रीय सदस्यले त्यसको सार्वजनिक रूपमा प्रतिवाद गरेका छन् ।
मंगलवार उदयपुरस्थित कांग्रेस जिल्ला कार्यालय अवलोकनका क्रममा महामन्त्री शर्माले पार्टी विधान अनुसार विशेष महाधिवेशन दर्ता फिर्ता गर्न मिल्दैन भन्दै “विशेष महाधिवेशनको ब्याक गियर हुँदैन, ९० दिनभित्र गर्नैपर्छ” भन्ने धारणा राखेका थिए ।
उनको सो भनाइप्रति केन्द्रीय सदस्य जीतजंग बस्नेत र कुन्दनराज काफ्ले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै प्रतिवादमा उत्रिएका छन् ।
राष्ट्रियसभा सदस्यसमेत रहेका बस्नेतले सामाजिक सञ्जालमार्फत तीन बुँदामा प्रतिवाद प्रस्तुत गर्दै लेखेका छन्, “विशेष महाधिवेशन एक, दुई वा तीन पटक हुने कुरा होइन । ढुक्क हुनुहोस्—वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क रूपमा निर्वाचनमा जान्छ । ‘ब्याक गियर’ नहुने गाडीमा चढ्दा दुर्घटना पक्का छ ।”
त्यसैगरी, बागमती प्रदेशसभा सदस्य काफ्लेले पनि ‘ब्याक गियर’ नभएको गाडी दुर्घटनाग्रस्त हुने उपमा दिँदै शर्माको अभिव्यक्तिलाई असंगत ठहर गरेका छन् ।
बस्नेत र काफ्ले दुवै संस्थापन पक्षीय नेताका रूपमा चिनिन्छन् भने शर्मा हाल इतर समूहको नेतृत्वसमेत गर्ने व्यक्तित्व हुन् । दुवैले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै शर्माको अभिव्यक्तिलाई अस्वीकार गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निर्देशनमा गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिका हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन मागसहित गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । कांग्रेस विधान अनुसार हस्ताक्षर पेस गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
यही विषयमा टिप्पणी गर्दै गरेको क्रममा संस्थापन पक्षीय नेताहरू बस्नेत र काफ्ले शर्माको अभिव्यक्तिविरुद्ध खुलेर उत्रिएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशन अहिले आवश्यक नरहेको तर्क गर्दै आएको छ ।