© २०२३
चन्द्रौटा(कपिलवस्तु), ७ पुस ।
राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले द्वन्द्वकालबाट उठेको चन्द्रौेटा क्षेत्र औद्योगिक करिडोको रुपमा विकासोन्मुख भएको बताएकी छन् । आर्थिक संकटमा रहेको अवस्थामा महोत्सवले आर्थिक चलायमान गराउन टेवा पुग्ने उनले बताइन् ।
सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको बिहीबार उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । चन्द्रौटा कृष्णनगर क्षेत्र जिल्लाको औद्योगिक विकासको मेरुदण्ड रहेको समेत घिमिरेले जिकिर गरिन् ।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले अहिले मुलुकमा आर्थिक सङ्कटको अवस्था सिर्जना भएको बताए । महोत्सवले स्थानीलाई समेट्न नसकेको गुनासो विभिन्न समयमा आउने गरे पनि आयोजकले स्थानीयलाई प्राथमिकता बताए ।
कृषि पर्यटन, उद्योग र ब्यापार ब्यावसायिक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मूल नाराका साथ चन्द्रौटामा संचालन भएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तु तथा जातजातिको संरक्षण र पहिचान झल्काउने वस्तुहरुका लागि निःशुल्क रुपमा स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
महोत्सवमा घरेलु तथा साना उद्योगका स्थानीय उत्पादन, हस्तकलाका सामग्री, अटो, कृषि, स्थानीय होटेललाई प्राथमिकता दिइएको मेला संयोजक महादेव पोख्रेलले जानकारी दिए ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तु तथा जातजातिको संरक्षण र पहिचान झल्काउने वस्तुहरूका लागि निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको स्टल संयोजक नमराज न्यौपानेले जनाए । १ सय ५० बढी स्टल रहने महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।