© २०२३
काठमान्डौ, १ मंसिर ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले मानवताविरुद्धको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको हो ।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप उनलाई लगाइएको थियो । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो ।
अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । त्यस्तै तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई सरकारी गवाह बनेको कारण ५ वर्षको सजाय दिइएको छ ।
४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नु अघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले फैसला आठ भागमा सुनाइने जानकारी दिएका थिए ।
बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।