Butwal Today

लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान 

२२ कार्तिक २०८२, शनिबार
अ+
अ-
दाङ, २२ कात्तिक ।
घोराही उपमहानगरपालिका –७ डबरीका किसान लालबहादुर चौधरी  धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन्। खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उनी लागेका छन्। उनले आफुसंगै छिमेकीलाई पनि लसुन रोप्न बोलाएका छन् ।
पाँच बर्ष अघि देखि गाउँमा  खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै चौधरीले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आएका छन्। “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उनले भने, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ।” खेती गर्न सजिलो भएकाले लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उनले बताए।
चौधरीले छ कट्ठा जग्गामा लसुन रोप्ने गर्छन्। यसबाट रु ८० हजार आम्दानी हुने गरेको छ। उनका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी (केस्रा) रोप्ने गरिन्छ। चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ। लसुन रोपेर उम्रेपछि युरिया र डियपी मल छर्की परालले छोप्ने गरिएको उनले जानकारी  दिए।
सौडियारका किसानले लसुनखेतीलाई नगदे बालीका रुपमा आत्मसात् गर्दै आएका छन्। त्यहा करिब १ सय घर छन् । प्रत्येक परिवारले दुईदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन्। एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र याममा प्रतिकिलो दुइ सय देखि  चार सय रुपैयाँ सम्ममा बिक्री हुने गर्दछ।  यसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन्।
“पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,”  सीमा चौधरीले भनिन् , “व्यापारी आफैँ घरमै आइपुग्छन्।” स्थानीय बजार घोराही र लमहीमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको उनले बताइन् । “धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,” उनले भनिन् ।
यो प्रबिधिबाट खेती गर्दा  खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको  घोराही उपमहानगरपालिको कृषि शाखाका प्रमुख खीमबहादुर  बस्नेतले   बताए। यस प्रविधिमा माटोको संरचना नबिगारी खेतको चिस्यानलाई नै उपयोग गरी बाली लगाइन्छ। उनका अनुसार जिरो टिलेज प्रविधिमा गरिने लसुनखेतीमा थोरै परिश्रममा धेरै आम्दानी हुने भएकाले दाङका अन्य क्षेत्रका किसानको आकर्षण यस खेतीतर्फ बढ्दै गएको छ।
“धान काटेपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले  लसुन रोपिन्छ,”  उनले भने, “त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ।”
जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्रै हटाउनुपर्ने हुन्छ। यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ। जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि प्रभावकारी बनेको छ।