Butwal Today

बी–५२ दुर्घटनामा ८ जनाको मृत्यु

२ असार २०८३, मंगलवार
अ+
अ-

लस एन्जलस । दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ ।

टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरुभूमि क्षेत्रमा ठुलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुर्घटना सोमबार बिहान करिब ११ः२० बजे नियमित परीक्षण मिसनका क्रममा भएको हो । लस एन्जलसको उत्तरमा रहेको उक्त आधारको रनवे नजिकैको मरुभूमि क्षेत्रमा विमान खसेपछि ठुलो मात्रामा कालो धुवाँ उठेको र आपत्कालीन टोलीहरू तुरुन्तै परिचालन गरिएको हवाई दृश्यहरूले देखाएका छन् ।

एडवड्र्स एयर फोर्स बेसको ४१२ औँ टेस्ट विङका उपकमान्डर कर्नल जेम्स हेसका अनुसार विमानमा सरकारी ठेकेदार र वर्दीधारी सैनिकहरू सवार थिए । विमान निर्माता बोइङले पनि आफ्ना दुई कर्मचारी विमानमा रहेको पुष्टि गरेको छ । अधिकारीहरूले सबै आठ जनाको ज्यान गएको र उनीहरूको परिवारलाई जानकारी दिने प्रक्रिया जारी रहेको बताएका छन् ।

कर्नल हेसले पत्रकार सम्मेलनमा भने, “हामीले आठ जना महान् अमेरिकीहरू गुमाएका छौँ ।” उनका अनुसार दुर्घटनाको कारण तत्काल स्पष्ट नभए पनि विस्तृत अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानमा करिब छ महिना लाग्न सक्ने अनुमान गरिएको छ ।

दुर्घटनाग्रस्त बी–५२ विमान राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण उडानमा संलग्न रहेको बताइएको छ । तर यो नै त्यही विशेष विमान थियो कि थिएन भन्ने विषयमा स्पष्टता आएको छैन ।

बी–५२ स्ट्राटोफोट्र्रेस अमेरिकी वायु सेनाको लामो दूरी बमवर्षक विमान हो । यो विमानले सन् १९५५ देखि सेवा दिँदै आएको छ । परम्परागत र आणविक हतियार बोक्न सक्ने क्षमता भएको यो विमान भियतनामदेखि मध्यपूर्वसम्मका विभिन्न सैन्य अभियानमा प्रयोग हुँदै आएको छ ।

एडवड्र्स एयर फोर्स बेसलाई अमेरिकी वायु सेनाको प्रमुख परीक्षण केन्द्रका रूपमा लिइन्छ । यहाँ विमान, हतियार प्रणाली र सफ्टवेयरहरूको विकास र परीक्षण गरिन्छ । यही आधारमा सन् १९४७ मा परीक्षण पाइलट चक येगरले पहिलो पटक ध्वनि अवरोध तोड्दै ऐतिहासिक उपलब्धि हासिल गरेका थिए ।

दुर्घटनापछि एयरफिल्ड केही समयका लागि बन्द गरिएको थियो र उडानहरू अन्य स्थानमा मोडिएका थिए । पछि आधार आंशिक रूपमा पुनः सञ्चालनमा आएको भए पनि गैर–व्यावसायिक आगन्तुक पासहरू निलम्बन गरिएको छ ।

वायु सेना सचिव ट्रोय मिन्कले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गर्नुभएको छ । उनले भने, “हामी यो क्षतिमा शोक मनाउँछौँ र आफ्नो कर्तव्य पूरा गर्न निरन्तर खटिने एयरम्यान, नागरिक र ठेकेदारहरूको सेवाको सम्मान गर्दछौँ ।”

उड्डयन सुरक्षा विशेषज्ञ जेफ गुजेट्टीका अनुसार प्रारम्भिक सङ्केतहरूले उडान नियन्त्रण प्रणालीमा समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ । उहाँले मर्मतपछि नियन्त्रणमा त्रुटि, इन्जिन असफलता वा परीक्षण उपकरणमा समस्या हुन सक्ने सम्भावनाहरू औँल्याए।

यद्यपि बी–५२ जस्तो विमान दशकौँदेखि प्रयोगमा रहे पनि नयाँ राडार प्रणाली तथा आधुनिक परीक्षण उपकरणहरूको समावेशले परीक्षण उडानलाई अझ जटिल र जोखिमपूर्ण बनाउने विज्ञहरूको भनाइ छ । उड्डयन विज्ञहरूले परीक्षण उडान सामान्य सञ्चालनभन्दा सधैँ बढी जोखिमपूर्ण हुने भएकाले कडा सुरक्षा प्रोटोकल आवश्यक हुने बताएका छन् ।

यसअघि पनि अमेरिकी वायु सेनाका प्रशिक्षण र परीक्षण उडानहरूमा घातक दुर्घटनाहरू भएका छन्, जसमा २०२४ मा टेक्सासमा इजेक्शन सीट सक्रिय हुँदा एक प्रशिक्षक पाइलटको मृत्यु भएको थियो भने २०२२ र २०२१ मा भएका अलग–अलग दुर्घटनाहरूमा पनि पाइलटहरूको ज्यान गएको थियो ।

हालको दुर्घटनापछि अमेरिकी वायु सेनाले विस्तृत अनुसन्धान अघि बढाएको छ भने घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?