© २०२३
काठमान्डौ, २० कार्तिक ।
विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ नेपालीहरूलाई म्यानमारस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको छ । उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी हिजो थाइल्याण्ड हुँदै नेपाल ल्याइएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, म्यानमारमा रहेका थप ११ जना नेपालीको उद्धारका लागि पनि चाँडै पहल भइरहेको छ ।
यसअघि म्यानमारको म्यावडीस्थित विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट दुई हप्ताभित्र ३८ जना नेपालीहरू लगायत २० विभिन्न देशका दुई हजारभन्दा बढी विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए । दूतावासले ती ३८ नेपालीलाई पनि नेपाल फिर्ता ल्याउन थाइल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
दूतावासले साथै सबै नेपालीलाई श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जाने र कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।
