© २०२३
काठमाडौँ ।
भारतको मणिपुरअन्तर्गत चुराचन्दपुर जिल्लामा मंगलबार सुरक्षा बल र कुकी समूहबीच भएको भिडन्तमा चार जनाको मृत्यु भएको छ । सेना र केन्द्रीय सुरक्षा बलको संयुक्त अपरेसन चलिरहेको बेला यो मुठभेड भएको बीबीसी हिन्दीले जनाएको छ ।
मुठभेडमा मारिएका सबै संयुक्त कुकी राष्ट्रिय सेना (यूकेएनए) का कार्यकर्ताहरू भएको विश्वास गरिएको छ । असम राइफल्सका एक अधिकारीले भने, “सूचना पाएपछि सुरक्षाकर्मीले मंगलबार बिहान चुराचन्दपुरबाट करिब ८० किलोमिटर टाढा रहेको खानपी गाउँमा अपरेसन सुरु गरे ।
यस क्रममा आतंककारीहरूले पहिले गोली चलाएका थिए । सुरक्षा बल र सशस्त्र आतंककारीबीचको गोलीबारीमा चार यूकेएनए कार्यकर्ताहरू मारिए ।”
रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “गाउँका प्रमुखको हत्या, स्थानीय मानिसहरूलाई धम्की दिने र क्षेत्रमा शान्ति र स्थिरता भंग गर्ने प्रयाससहित यूकेएनए कार्यकर्ताहरूले हालै गरेका अत्याचारका कारण यो अपरेसन सुरु गरिएको हो ।”
यसैबीच यूकेएनएले सुरक्षा बलको कारबाहीको निन्दा गरेको छ र चुराचन्दपुरमा बन्दको आह्वान गरेको छ ।