© २०२३
बुटवल ।
रुपन्देहीका उद्योगीहरूले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
गौतमको गएको बिहीबार बिद्युत् प्राधिकरणले उद्योगहरूमा बिद्युत् लाइन काटेको विरोधमा उद्योगमा कार्यरत मजदुरहरूले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो ।
आफूहरू माथि भएको अन्यायका विरुद्ध आवाज उठाउँदा उठाउँदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरूको तर्फबाट राहत स्वरूप सहयोग प्रदान गरिएको जगदम्बा सेन्थेटिक्सका रतन आचार्यले बताए ।
पञ्चकन्या समूह,जगदम्बा सेन्थेटिक्स र अर्घाखाँची सिमेन्टको तर्फबाट सङ्कलित रकम एक लाख दश हजार रुपैयाँ आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए ।
सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यले उक्त रकम स्वर्गीय गौतमको परिवारलाई हस्तान्तरण गरेका थिए ।
उद्योगमा लाइन काटेपछि मजदुरहरू बेरोजगार भएको भन्दै गौतमकै पहलमा उद्योगी र मजदुरहरूले आन्दोलन सुरु गरेका थिए । आन्दोलनकै क्रममा भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए ।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्ट मार्फत मजदुरहरूको अधिकारका लागि सक्रिय रहँदै आएका थिए ।