© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उद्योगहरूमा विद्युत् लाइन काटिँदै आएको समस्याको समाधानका लागि मध्यमार्गी उपाय खोज्ने प्रयास गरिएको स्पष्ट पारेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूसँगको छलफलपछि उद्योगहरूलाई आंशिक रूपमा सहजीकरण गर्ने प्रस्ताव अघि सारिएको जानकारी दिए ।
उनका अनुसार, महासंघले उद्योगहरूको लाइन पुनःजोड्ने, धरौटीका रूपमा एक किस्ता भुक्तानी गर्ने र बाँकी विवाद कानुनी प्रक्रियामार्फत समाधान गर्ने गरी सहमतिको खाका तयार गरेको हो । “महासंघ कुनै न्यायिक निकाय होइन, त्यसैले हाम्रो भूमिका विवाद समाधानको अन्तिम निर्णय नभई मध्यमार्गी पहल मात्रै हो,” ढकालले स्पष्ट पारे ।
उनले सोमबार प्रधानमन्त्री र विभागीय मन्त्रीहरूसँग भएको छलफलमा महासंघले प्रस्तुत गरेको सुझाव मौखिक रूपमा सहमति भएको बताए । ढकालका अनुसार, महासंघले उद्योग सञ्चालनमा अवरोध नआओस् भन्ने उद्देश्यले सरकार र निजी क्षेत्रबीच संवादको पुलको रूपमा काम गरिरहेको छ ।